कोरोना महामारीको प्रभाव : रासायनिक मलको मूल्य ह्वात्तै बढ्यो — OSNepal

कोरोना महामारीको प्रभाव : रासायनिक मलको मूल्य ह्वात्तै बढ्यो

LC (KTM) May 26, 2021 0

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ ।

कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनकारी दिएको छ ।

साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कोरोना महामारीका कारण मल उत्पादनका लागि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको, मजदूर अभावका कारण कारखानाहरूको उत्पादन घटेको र जहाजमा समेत मजदूरहरूको अभाव भइरहेकाले मलको मूल्य बढेको हुनसक्ने बताए ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

विगत ५ महीनादेखि मलको मूल्य बढिरहेकाले सरकारले मल किन्नका लागि छुट्ट्याउँदै आएको बजेट अपुग हुने भएको छ । अनुदानको मल किन्न सरकारले चालू आर्थिक वर्षका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन गर्ने सरकारको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर