एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने — OSNepal

एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने

LC (KTM) November 08, 2021 0

काठमाडौँ, २२ कात्तिक -नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन् ।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी सङ्गठित सदस्य रहेका थिए । अहिले नौ लाख सङ्गठित सदस्य पुगेको उहाँको भनाइ रहेको छ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक÷एक जना प्रतिनिधि निर्वाचित गर्नेछ । जनवर्गीय सङ्गठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन् । एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय सङ्गठन विभागमा पठाउन निर्देशन दिइएको छ । एमाले महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर