होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित बिरामीलाई स्वास्थ्य सामाग्री वितरण — OSNepal

होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित बिरामीलाई स्वास्थ्य सामाग्री वितरण

LC (KTM) May 25, 2021 0

काठमाडौँ, ११ जेठ- कोथिना मीठो छ हस्पिटालिटी स्कूलले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक औषधि सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएपछि काठमाडौँको लाजिम्पाटमा सञ्चालित उक्त स्कूलले कोरोना पोजेटिभ भएर घरमा बसिरहेका सङ्क्रमितलाई डाक्टरको सल्लाहअनुसार आवश्यक पर्ने औषधि र स्वास्थ्य स्वयम्सेवकलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

कोरोना सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने भिटामिन ‘सी’, भिटामिन ‘डी’, जिङ्क चक्की, कोडोमोल ट्याब्लेट, विटा टु, थर्मोमिटरलगायतका एक जना सङ्क्रमितका लागि रु एक हजार ३६५ मूल्य बराबरको औषधि वितरण गरिएको स्कुलका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो ।

यस्तै, सो स्कूलले स्वास्थ्य स्वयम्सेवकका लागि पिपिई, माक्स, स्यानिटाइजर, ग्लोब्सलगायतका सामाग्री समेत सहयोग गरेको छ । थप उपचार गर्नुपर्ने बिरामीलाई समेत समयमा सल्लाह र सुझाव प्रदान गर्दै आएको छ । एशोसियशन नेपाल आकी मुनाफारहित संस्थाबाट सञ्चालित उक्त स्कूलले गोरखाको बारपाक–सुलिकोट गाउँपलिकामा ६४ सङ्क्रमित, पालुङटार नगरपालिकामा १०० सङ्क्रमित र सिरानचोक गाउँपालिकाका ३० सङ्क्रमितका लागि औषधी र अक्सोमिटर पठाइसकेको छ ।

“ग्रामिण क्षेत्रमा कोरोना रिपोर्ट पोेजेटिभ आएर आत्तिएका जनतालाई थोरै भएपनि राहत पुग्ने उदेश्यले हामीले प्राथमिक स्वास्थ्य उपचारका लागि उक्त औषधि पठाएका हौँ, जनता रोगले आत्तिएको बेलामा यसले थोरै भएपनि सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, सिईओ पोखरेलले भन्नुभयो । सो औषधिका लागि सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, गोरखाको आरुघाट गाउँपालिकाबाट समेत माग आएको छ । स्थानीय जनप्रतिनिधीसँग सहकार्य गरेर उक्त सहयोग गर्दै आएको पोखरेलको भनाइ छ । उक्त सहयोगका लागि समाजसेवी तथा वरिष्ठ इब्जिनीयर अशोककुमार श्रेष्ठले समेत सहयोग गर्नुभएको छ । एक दशक पहिले स्थापना भएको उक्त हस्पिटालिटी स्कूलले विस २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको समयमा काठमाडौँ, गोरखा, धादिङ, काभ्रेपलाञ्चोकलगायका जिल्लामा भूकम्पपीडित जनतालाई सहयोग गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर