लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छः पूर्वमुख्यमन्त्री पोखरेल — OSNepal

लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छः पूर्वमुख्यमन्त्री पोखरेल

LC (KTM) November 04, 2021 0

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कानून पढेका बुझेका, जानेकाले न्यायालयलाई बन्दी बनाउन नहुनेमा जोड दिनुभयो ।

नेता पोखरेलले जनताको आवश्यकता, दीर्घकालीन विकास निर्माण र पूर्वाधारका क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक प्रगतिमा रोक लगाउने कामले जनतामा निराशा छाएको बताउँदै ओली नेतृत्वको सरकारले ल्याएको एक हजार ४०० सडक आयोजना खारेज गर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको आरोप लगाउनुभयो ।

उहाँले एमालेले जनताको जनमतलाई उच्च सम्मान गरेर अघि बढेको हुँदा सरकार बाहिर रहेपनि जनताकै साथमा रहेको उल्लेख गर्दै अहिले एमाले दशौँ महाधिवेशनमा केन्द्रित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ एमाले एकतावद्ध छ भन्ने कुराको सन्देश हालै सम्पन्न देशभर वडा र पालिका अधिवेशन एकै पटक गरेर उदाहरण दिएको छ । एमालेले देखाएको व्यवस्थापन अरु दलले देखाउन सक्छन् कि सक्दैनन् भन्ने विषय चुनौतीपूर्ण छ ।”

विधान अधिवेशन, नीति निर्माणसँगै नेतृत्व निर्माणका लागि आशन्न दशौँ महाधिवेशनको प्रक्रिया अघि बढेको हुँदा नेकपा एमाले थप बलियो, सङ्गठित बनेर अघि बढ्ने सङ्कल्प गरेको उहाँले बताउनुभयो । प्रेस चौतारीका जिल्ला उपाध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर