दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा आयो — OSNepal

दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा आयो

LC (KTM) November 01, 2021 0

नेपालगञ्ज-दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा (आइतवार)बाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः सुरु हुने भएको हो ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जनाकारी दिए । दुईवर्ष अघि सञ्चालनमा ल्याएको सो बस सेवा बन्द गर्नु पर्दा व्यवसायीलाई ठूलो नोक्सानी भएको उनले बताए । उनले यसबीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न सहर जाने यात्रीलाई मैत्री बसले भरपर्दो र सुरक्षित सेवा दिने दाबी गरे ।

कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरि सो बस सेवा सुरु गर्न लागिएको उनले बताए । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राती ८ बजे छुट्ने छ । यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।यस्तै, हरिद्वारका लागि नेपालगञ्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ । लामो समयदेखि रोकिएको सो बस सेवा फेरि सुचारु भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।

रुपैडिहाबाट हरिद्वार र दिल्ली जाने नेपाली धेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल–भारत मैत्री बस सेवाबाट ती ठाउँको यात्रा सुरक्षित र सहज हुने भेरी यातायात प्रालिले जनाएको छ । बस सेवा सुरु भएपछि दुबै देशबीच व्यापार व्यवसाय समेत बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।उनले भने, ‘कोरोनाले थलिएको यातायात व्यवसायलाई मैत्री बस पुनः सञ्चालन हुँदा व्यवसायमा ठूलो प्रभाव पार्ने छ ।’ उनले यस सेवाले रुग्ण अवस्थामा रहेको व्यावसाय पुनः सञ्चालन हुने र गति लिने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर