धार्मिक पर्यटकीय गन्तव्य बन्दै नर्मदेश्वर मोक्षश्रमधाम — OSNepal

धार्मिक पर्यटकीय गन्तव्य बन्दै नर्मदेश्वर मोक्षश्रमधाम

LC (KTM) October 29, 2021 0

गण्डकी, १२ कात्तिक – अनादिकालदेखि अस्तित्वमा आएको विश्वास गरिने पोखरा महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई यस क्षेत्रको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल थालिएको छ ।अनादिकालमा कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस धाम परिसरलाई पितृमोक्षधामका साथै महत्वपूर्ण देवघाटका रुपमा स्थापित गर्न नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिले भौतिक पूर्वाधार विकासका योजनालाई अघि बढाइएको समितिका अध्यक्ष झवीन्द्रराज आचार्यले बताउनुभयो ।

प्राचीनकालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि आवश्यक प्रवद्र्धन एवं भौतिक पूर्वाधारको विकास गर्न नसक्दा यसको ऐतिहासिक गरिमा र महत्व ओझेलमा पर्दै गएको उहाँले जानकारी दिनुभयो । तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै देश विदेशका साधुसन्तको पुग्नैपर्ने गन्तव्यका रुपमा स्थापित गराउने दीर्घकालीन लक्ष्यका साथ पूर्वाधार विकासका योजनालाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष आचार्यका अनुसार धाम परिसरमा द्वादश ज्योर्तिलिलिङ्गसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिने लक्ष्य राखिएको छ ।

कूल बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवानका लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने समितिले जनाएको छ । मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने जानकारी दिँदै आचार्यले नेपाल आमा एवं अवतारी महापुरुषको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

“गुरुयोजनाअनुसार लक्षित काम सम्पन्न गर्न रु आठ करोड लाग्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न दान तथा सहयोगबाट हालसम्म झण्डै रु चार करोडको लागतमा काम सम्पन्न भएका छन् ।” धाममा आउनुहुने साधु, सन्त, वृद्धवृद्धा, ब्रह्मचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आइएको र यसका लागि मुठ्ठीदानको आह्वान गरिएको समितिले जनाएको छ ।

समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउनुहुने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिङ्ग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीप लगायतको निर्माणका लागि लघु तथा गुरुयोजना अघि बढाएको छ । धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको समितिका सल्लाहकार पीताम्बर पौडेलले जानकारी दिनुभयो ।

महत्वपूर्ण तीर्थस्थल भएर पनि प्रचारप्रसारको अभावमा पछि परेको यस धाममा गुरुकुल पाठशाला स्थापना गर्दै शिक्षाको केन्द्रका रुपमा समेत विकास गर्न सकिने उहाँको भनाइ छ । धामलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको र त्यसको उजागर गर्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

किंवदन्तीअनुसार परापूर्वकालमा बरवृक्षको छहारीमा बसी तपस्या, साधना एवं यज्ञादि कार्य हुने भएकाले नर्मदेवर भगवान्लाई दायाँपारी बरवृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको पाइन्छ । यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुति अझै पनि कायमै छ ।

धाममा वैशाख, साउन र माघे सङ्क्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदि महत्वपूर्ण तिथिमा विशेष मेला लाग्ने गर्दछ । धामको गरिमा र महत्वलाई उजागर गर्ने लक्ष्यका साथ समितिले प्रत्येक महिनाको शुक्ल पक्षको एकादशी तिथिमा विशेष गङ्गा आरती गर्दै आएको छ । देश–विदेशबाट ख्याती कमाएका सन्त महन्तको आगमन भइरहने यस धाममा विसं २०७३ फागुन ११ गतेदेखि २१ गतेसम्म सन्त सम्मेलन गरिएको थियो ।

ऋषिमुनिको प्राचीन तपोभूमिका रूपमा रहेको यस तीर्थस्थलको अस्तित्व आदिमकालदेखि नै रहेको र धेरै विषय अनुसन्धानको पर्खाइमा रहेको समितिका सदस्य शंकरप्रसाद पौडेलले बताउनुभयो । पितृतीर्थका रूपमा समेत यो धाम रहेको र यो कास्की जिल्लाको देवघाटका रुपमा स्थापित बनेको उहाँले बताउनुभयो ।लक्षित योजनालाई सम्पन्न गर्दै यस धामलाई यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्न सकिने बताउँदै उहाँले यसका लागि राज्यस्तरबाटै साथ र सहयोग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर