रत्नेचौर र बागलुङको कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सुरु — OSNepal

रत्नेचौर र बागलुङको कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सुरु

LC (KTM) October 27, 2021 0

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ ।नेपाल सरकारको शस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरेको हो । रु तीन करोडको लागतमा थानी हिमशिखर जेभीले उक्त पुल निर्माण गर्न लागेको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सांसारकै लामो झोलुङ्गेपुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको भानु माध्यमिक विद्यालय रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै रत्नेचौरमा आन्तरिक पर्यटकको वृद्धि हुने आशा गरिएको छ । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महिनामा पुल तयार गर्नुपर्ने छ । “पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेशनको काम सुरु हुन्छ”, कम्पनीका प्रतिनिधि नरहरी खड्काले भन्नुभयो ।

दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिने छ । पुल निर्माणका लागि सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो । पुल दुई जिल्लाको मितेरी सिमा हुने सर्वसाधारणको आशा छ । पुल निर्माण पछि रत्नेचौरमा उत्पादन हुने कृषि उपजको बजारीकरण गर्न सहज हुने विश्वास स्थानीयवासीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर