काबुल, ९ कात्तिक-अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण अफगानिस्तानमा विभिन्न विकृति देखिएका छन् । छाक टार्नकै लागि केही अभिभावकले आफ्ना सन्तान बेच्नेदेखि ऋण मिनाह गर्न साहुलाई सन्तान जिम्मा दिन थालेका छन् ।
भोकमरीकै कारण एकै परिबारका आठ बालबालिकाको मृत्यु भएको छ । राजधानी काबुलमा खान नपाएर एकै परिबारका आठ दाजुभाइको मृत्यु भएको स्थानीय पादरी मोहम्मद अली बामीयानीले जानाकारी दिए ।
उनीहरुका बाबुको केही महिनाअगाडि क्यान्सरबाट मृत्यु भएको थियो भने आमाको ह्दयघातका कारण हालै निधन भएको थियो । अभिभावक नभएपछि केही खान नपाएर उनीहरुको मृत्यु भएको जनाइएको छ । ‘उनीहरु भोकका कारण थला परेका,’ एक स्थानीयले भने ।
भोक टार्न साहुसँग लिएको पैसा तिर्न नसकेपछि आफ्नो एक सन्तान दिएको एक महिलाले बताएकी छिन् । भोकमरीका कारण ती महिलाले सन्तान नै बेच्ने कठोर निर्णयमा पुगेकी थिइन् ।
राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् ।
१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट गहिरिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।