काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च, अस्पताल भरिए ! — OSNepal

काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च, अस्पताल भरिए !

LC (KTM) August 11, 2021 0

काठमाडौँ – दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ। यो अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन्। जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन्। ‘एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो’, उनले भने।

केही दिन यता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा. बमले बताए । उनका अनुसार काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन्। यी बिरामी सबैजसो अक्सिजन दिनुपर्ने अवस्थाका छन् । बिरामी भरिँदै गएपछि अन्य वार्डलाई कोभिड वार्डमा रूपान्तरण गर्ने कार्य भइरहेको डा. बमले जानकारी दिए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

वीर अस्पतालमा पनि चारपाँच दिनदेखि भर्ना हुने कोरोना संक्रमित र ओपिडीमा उपचार गर्नेहरूको संख्या पनि बढेको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले बताए। उनका अनुसार उपचारमा आउनेहरू धेरैजसो काठमाडौं उपत्यकाका छन् । दैनिक १० देखि १५ जना बिरामी भर्ना भइरहेको उनले बताए। केही दिनयता अस्पतालमा देखिएको बिरामीको चापले तेस्रो लहर सुरु भएको संकेत गरेको डा. गैरेले बताए। वीर अस्पतालको आइसियु कक्ष कहिल्यै खाली हुन नपाएको प्रशासकीय प्रमुख डा. भुपेन्द्र बस्नेतले बताए ।

अस्पतालमा हाल १ सय जनरल बेड, ४० वटा आइसियु, ४४ वटा एचडियु बेड छन्। एक साताभित्र सय बेड थप हुने र अर्को दुई साताभित्रै पाँच सय बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. बस्नेतले जानकारी दिए। ‘अब वीरमा आइपुगेका बिरामी बेड नपाएर फर्किनुपर्ने छैन’, उनले भने।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दा अस्पताल आउने बिरामीको संख्या पनि बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। दैनिक २५ देखि ३० जना बिरामी भर्ना हुन आउने गरेको प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले बताए। पाटनमा मंगलबारसम्ममा २ सय ५० जना कोरोना संक्रमित जनरल वार्डमा भर्ना भएका छन्। यस अस्पतालमा जनरल बेड २ सय ७३ वटा छन्। एचडियुका सय, आइसियुका २७ मध्ये बालबालिकाका ६ वटाबाहेक सबै बेड भरिइसकेको शाक्यले बताए। बहिरंग विभागमा जाँच गर्न र पिसिआर गर्न हरेक दिन २ सय ५० देखि ३ सय जना आउने गरेको उनले जानकारी दिए। परिवारै संक्रमित भएर आउनेको संख्या पनि धेरै रहेको डा. शाक्यले बताए। धेरैजसो संक्रमितमा मध्यम समस्या पाइएको छ। संक्रमित हुनेहरूमा प्रायः ३० वर्षमाथिका छन्। अहिले बहिरंग विभागमा बिरामीको चाप हेर्दा उपत्यकामा संक्रमण थप बढ्ने संकेत रहेको डा. शाक्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर