डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव — OSNepal

डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

LC (KTM) November 30, 2024 0

डोल्पा, १५ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालको उच्च हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिका–६ दूरगाउँका एखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मन्त्री यादवले डोल्पावासी आमनागरिकका हरेक आवश्यकता पूरा गर्नका लागि नेपाल सरकार सधैँ तत्पर र कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले डोल्पाली नागरिकको आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध छ, खानेपानीका यस्ता योजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ ।”

आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाले स्थानीयवासीको दीर्घकालीन आवश्यकता पूरा गर्दै स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । उहाँले डोल्पावासी आम नागरिकहरूको सहकार्य एवं सहयोगबाट डोल्पा जिल्लामा खानेपानी आयोजनाका काममा राम्रो उपलब्धि सम्भव भएको बताउनुभयो ।

यसैगरी, मन्त्री यादवले आजै डोल्पाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गर्नुभयो । उहाँले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ ।”

मन्त्री यादवले खानेपानी तथा सरसफाइ योजना तथा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको परियोजनाले डोल्पावासीको शुद्ध र स्वच्छ खानेपानीका लागि थप सुदृढ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस आयोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाइको विकासमा नयाँ इतिहास रच्नेछ भन्ने मैले विश्वास लिएको छु ।” डोल्पा जिल्लामा निर्माण गरिएका खानेपानीका आयोजना निर्माण सम्पन्न कार्यलाई सफल पार्न एवं सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरू, स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियनप्रति मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार थापा लगायतको टोली डोल्पामा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर