ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि अझै कायम छ धामी–झाँक्री प्रथा — OSNepal

ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि अझै कायम छ धामी–झाँक्री प्रथा

LC (KTM) December 20, 2023 0

मन्थली (रामेछाप), ४ पुस । रामेछाप जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ ।

गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो । अस्पतालमाम ठूलो धनराशि खर्च गरेर उपचार गराउँदा पनि बिरामीलाई निको नभएपछि निराश भएका बिरामीका आफन्त अन्तिम विकल्पका रूपमा तान्त्रिककामा उपचारका लागि पुग्ने गर्छन् ।
अस्पताल, औषधि र आधुनिक प्रविधिको उच्चतम प्रयोग भइराखेको अहिलेको परिवेशमा पनि धामीझाँक्रीमा विश्वास गरेर कैयौँ बिरामी उपचारका लागि पुग्ने गर्दछन् । लिखु तामाकोशी गाउँपालिका–७ निवासी प्रतीक बोहरा व्यावसायिक धामी–झाँक्री हुन् । आफ्ना जुजुबाजे, बाजे र बुवा सबैले यही काम गरेका र आफ्नो शरीरमा पनि सानै उमेरदेखि झाँक्री चढेकाले यही पेसा गर्दै आएको उनले बताए। बोहोरा आफ्नो गृह वडा, पालिका र जिल्लाका साथै बेलाबेलामा सेवा गर्नाका साथै काठमाडौँको स्वयम्भू कारखाना चोकमा धामी–झाँक्री आश्रममा बसेर सेवा पुर्याउँदै आएका छन् ।

उनले भने, “काम्ने, छोप्ने र एक्कासी बेहोस भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरूको सेवाभावले उपचार गर्ने हो ।” बोहोराका अनुसार धामी–झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन गतल हो यस्ता गतिविधि गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ ।

यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री सङ्घले अनुगमन टोली बनाएको पनि उनको भनाइ छ । परम्परा र संस्कार संरक्षणका लागि यो काम गर्नुपर्नेमा बोहोराले जोड दिए । उनले धामी, झाँक्री र माताले मनपरी शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि धामी–झाँक्री सङ्घको अनुगमन टोली बेलाबेलामा आउनुपर्नेमा जोड दिए ।

“यो व्यवसाय होइन, संस्कारका रूपमा विकास हुनुपर्छ”, बोहराले भने । विकृतिका रूपमा फैलिँदै गएको धामी–झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उनको भनाइ छ । पहिले कुन जमिनमा घर बनाउँदा राम्रो हुने, कतापट्टि फर्काउने, मूलढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र त्यसको शुभसाइत झाँक्रीले नै गर्ने गरेको बोहोराले बताए ।

मानवीय विकाससँगै अस्पतालबाट गरिने उपचारलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उनले सकेसम्म बिरामीको निःशुल्क सेवा गर्न झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । अस्पताल धाउँदाधाउँदै निको नभएका बिरामी पनि आफूले तान्त्रिक विधिबाट उपचार गरेर निको पारेको मन्थली नपा वडा नं ७ का तान्त्रिक विशेषज्ञ केदारप्रसाद ढुङ्गेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर